१. टि.टि. (tetanus toxoid) खोप के हो ?
टिटानस टक्साइड (टि.टि.) खोपले धनुष्टंकार रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । यो खोप तरल पदार्थको रुपमा भायलमा उपलब्ध हुन्छ । यो खोप एक्लै वा विभिन्न प्रकारको मिश्रणमा उपलब्ध हुन्छ ।
- टि.टि. खोपले धनुष्टंकार रोग बिरुद्ध सुरक्षा प्रदान गर्दछ ।
- डि.टि.पि. खोपले भ्यागुते रोग, धनुष्टंकार रोग र लहरे खोकीबाट सुरक्षा प्रदान गर्दछ ।
- डि.टि (DT) (डिप्थेरीया–टिटानस टक्साईड) खोपले भ्यागुते रोग र धनुष्टंकार रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । यसमा डिप्थेरीया टक्साइडको मात्रा बढी हुने भएकोले यसलाई ६ वर्ष भन्दा बढी उमेर भएका बच्चा वा युवालाई दिन हुँदैन ।
- टि.डि.(TD अथवा टिटानस–डिप्थेरीया टक्साइड युवालाई दिने खोप हो, यो डि.टि. जस्तै समान खोप हो तर यसमा डिप्थेरीया टक्साइडको मात्रा कम हुन्छ । यो खोप ६ वर्ष माथिका बच्चा र युवा साथै गर्भवती महिलालाई पनि उपयुक्त छ । टि.डी. बाट भ्यागुते रोग र धनुष्टंकार विरुद्ध थप सुरक्षाको लाभ लिन सकिन्छ ।
गर्भधारण गर्नसक्ने उमेरका महिलाहरूलाई टिटानस टक्साइड (टि.टि अथवा टि.डि.) भएको खोप दिँदा यसले महिलालाई मात्र धनुष्टंकार रोगबाट सुरक्षा प्रदान नगरी जन्मने बच्चालाई समेत नवजात शिशुमा हुने धनुष्टंकार (neonatal tetanus) हुनबाट जोगाउँछ । गर्भवती महिला वा गर्भवती हुने उमेरका महिलालाई टि.टि. वा टि.डि. खोप दिएपछि उनको शरीरमा प्राप्त हुने रोग विरुद्ध प्रतिरोधात्मक क्षमता पनि आमाको भ्रूण (Fetus) मा हस्तान्तरण हुन्छ । यी रोग विरुद्ध प्रतिरोधात्मक क्षमताले बच्चालाई जन्मेपछि र त्यसको केही महीना पछि सम्म धनुष्टंकार रोगबाट सुरक्षा प्रदान गर्दछ । यसले महिलालाई समेत धनुष्टंकार विरुद्ध सुरक्षा गर्दछ ।
टि.टि अथवा टि.डि.को तीन मात्रा खोपले आमा तथा नवजात शिशुमा हुने धनुष्टंकारबाट कमसेकम पाँच वर्षसम्म सुरक्षा प्रदान गर्दछ । पाँच मात्रा टि.टी खोपले महिलाहरूलाई गर्भधारण गर्न सक्ने उमेर भरी सुरक्षा प्रदान गर्दछ । टिटानस टक्साइड भएको खोपहरूलाई धेरै बेर स्थीर राख्दा खोप तरल पदार्थबाट अलग भई मसिना कणको रूपमा भायलको पिंधमा थिग्रन्छ । खोप दिनु अघि भायललाई हल्लाएर पिंधमा थिग्रिएको कण र तरल पदार्थलाई मिलाउनु पर्दछ । टि.टि/ डि.टि/ टि.डि./ डि.पि.टि. खोपहरूलाई कहिल्यै पनि जम्नेगरी चिस्याउनु हुँदैन । यदि खोप जमेको संका लागेमा जमेको हो की होइन यकिन गर्न “हल्लाएर गरिने जाँच” (Shake Test) गरि यसको निश्चित गर्न सकिन्छ । यदि “हल्लाएर गरिएको जाँच” बाट खोपहरु जमेको यकिन भएमा खोपलाई प्रयोग गर्नु हुँदैन ।
२. टि.टि, टि.डि., डि.टि खोपहरु कति सुरक्षित छन् र यिनीहरूका संभावित प्रतिकूल असरहरु के के हुन् ?
टिटानस टक्साइड भएका खोपहरूबाट ज्यादै कम कडा प्रतिक्रियाहरू हुन्छन् । टि.टि., टि.डि, र डि.टि. खोपहरूबाट हुने हल्का प्रतिक्रियाहरू निम्न छन्ः
दुखाईः खोप लगाएको करीब एक देखि तीन दिनपछि सुई लिएका दश जना मध्ये एक व्यक्तिलाई सुई लिएको स्थानमा हल्का दुख्ने, रातो हुने, तातो हुने र सुन्निने हुन्छ । पहिलो मात्राको खोप भन्दा पछिल्लो मात्रामा साधारण प्रतिक्रियाहरू अझ बढी देखा पर्दछन् र थप मात्रा खोप लिएका मध्ये ५०% देखि ८५% सम्ममा यो प्रभाव देखिन सक्छ ।
ज्वरोः खोप लिएपछि करिब दश जनामा एक जनालाई हल्का ज्वरो आउन सक्दछ ।
गर्भवती महिलाको लागि नियमित खोप सेवाबाट प्रदान गरिने टिटानस टक्साइड (टि.टि.) खोपको समय तालिकाः
|
टि.टि. वा टि.डि.को मात्रा |
कहिले दिने |
सुरक्षा प्रदान हुने आशातित अवधि |
|
१ |
गर्भावस्थाको पहिलो सम्पर्कमा, सकेसम्म छिटो |
छै्न |
|
२ |
टि.टि. १ लिएको कमसेकम ४ हप्ता पछि |
१–३ वर्ष |
|
३ |
टि.टि. २ लिएको कमसेकम ६ महिना पछि अथवा अर्को गर्भावस्थामा |
कमसेकम ५ वर्ष |
|
४ |
टि.टि. ३ लिएको कमसेकम १ वर्षपछि वा अर्को गर्भावस्थामा |
कमसेकम १० वर्ष |
|
५ |
टि.टि. ४ लिएको १ वर्षपछि वा अर्को गर्भावस्थामा |
सम्पूर्ण प्रजनन् उमेरभरी र अझै पछि सम्म |
पुनश्च: हालै गरिएका अध्ययनले टि.टि. खोपद्वारा प्रदान गर्ने सुरक्षा अवधि तालिकामा दिएको भन्दा पनि बढी भएको देखाएको छ ।
स्वास्थ्य मन्त्रालयले नेपालमा हालै टि.टि. खोपको तालिका यस प्रकार हुने निणर्य गरेको छः
|
टि.टि. खोप लगाउने अवस्था |
कहिले दिने |
|
विगतमा टि.टि. वा टिटानस टक्स्वाइस भएको खोप नलगाएका गर्भवति महिलाहरुको हकमा |
गर्भावस्थाको पहिलो सम्पर्कमा (जतिसक्दो चाँडो) पहिलो मात्रा । ४ हप्ताको फरकमा दोश्रो मात्रा । दोश्रो मात्रा लिएको कमसेकम ६ महिना पछि अथवा अर्को गर्भावस्थामा तेश्रो मात्रा । तेश्रो मात्रा लिएको कमसेकम १ वर्षपछि वा अर्को गर्भावस्थामा चौथो मात्रा र चौथो मात्रा लिएको १ वर्षपछि वा अर्को गर्भावस्थामा पाँचौ मात्रा लिई टि.टि. खोपको जम्मा ५ मात्रा पुरा गर्ने |
|
टि.टि. खोप अभियान वा अन्य अवस्थामा टि.टि. वा टिटानस टक्स्वाइस भएका खोप लगाएका महिलाहरुको हकमा |
विगतमा अभियानमा वा अन्य अवस्थामा टि.टि. खोपको कति मात्रा लगाएको छ सो को यकिन गर्ने (कार्ड वा मौखिक रुपमा) । सो को आधारमा थप एक मात्रा टि.टि. खोप प्रदान गरी पहिले लिएको मात्रामा जोडि गणना गर्ने । त्यसपछि एक–एक बर्षको फरकमा थप खोप मात्रा प्रदान गरी जम्मा पाँच मात्रा पुरा गर्ने । जस्तै विगत खोप अभियानमा तीन मात्रा लिएको भएमा यसपालीको मात्रा थप गर्दा चौथो मात्रा पुरा भयो । यसरी चौथो मात्रा लिएको १ वर्षपछि वा अर्को गर्भावस्थामा पाँचौ मात्रा लिई टि.टि. खोपको जम्मा ५ मात्रा पुरा गर्ने । |
|
बाल्य अवस्थामा तीन मात्रा डि.पि.टि. खोप लगाएका बालबालिकाहरुको लागि |
विद्यालय प्रवेश गर्ने उमेरमा (४ देखि ७ बर्ष) मा थप एक मात्रा गरी चौथो मात्रा । विद्यालय छाड्ने उमेरमा (१२ देखि १५ बर्ष) थप एक मात्रा गरी पाँचौ मात्रा र वयस्क अवस्था वा गर्भवति अवस्थामा थप एक मात्रा गरी छैठौ मात्रा |
नेपालमा मातृ तथा नवजातशिशुमा हुने धनुष्टंकार विरुद्धको खोप अभियान संचालन भइसकेकोले धरै महिलाहरुमा धनुष्टंकार विरुद्धको खोप लिएको प्रमाण पाइन्छ । बच्चा अवस्थामा सही समयावधिमा दिइएको तीन मात्रा डि.टि.पी. खोपले युवा अवस्थामा दिईने टि.टि./टि.डि. को दुई मात्रा खोप बराबरको सुरक्षा प्रदान गर्छ भन्ने कुरा मानिन्छ ।
प्रयोग विधिको सारांश: टि.टि. खोप
|
खोपको किसिम |
टक्साइड डि.टी, टि टि. अथाव टि.डि को रूपमा |
|
दिनुपर्ने मात्रा |
कमसेकम सुरुका दुई मात्राहरू (टि.टि. १ र २ मात्रा) |
|
समय तालिका |
माथिको तालिकामा उल्लेख गरिएको छ |
|
थप मात्रा |
टि.टि./टि.डि. प्रत्येक १० वर्षमा वा गर्भावस्थामा |
|
निषेध अवस्था |
पहिलो मात्रा दिंदा कडा प्रकारको प्रतिकूल असर देखिएकाहरुमा |
|
प्रतिकूल असर |
खोप लगाएको ठाउँमा हल्का वा शरीरको अन्य प्रणालीमा (systemic) प्रतिक्रियाहरू सामान्य रुपमा देखा पर्छन् । प्रतिक्रियाको अवस्था खोपको मात्रासंगै बढ्दै जान्छ र खोप दिन नहुने अवस्था पनि सिर्जना हुनसक्छ । |
|
विशेष सावधानी |
खोप लिने व्यक्तिको उमेर सात वर्ष पुगेपछि DT को सट्टामा Td प्रयोग गर्नु पर्दछ । |
|
मत्रा |
०.५ मि.लि.
|
|
सुई लगाउने स्थान |
बायाँ पाखुराको माथिल्लो बाहिरी भाग |
|
भण्डारण व्यवस्था |
+२० से. +८० सेल्सियसको बिचमा भण्डार गर्ने ÷तर कहिल्यै जम्न दिनु हुँदैन । |
नोटः स्रोत साधनले भ्याएको अवस्थामा शुरुमा लिनुपर्ने मात्राहरु पुरा भएको अन्दाजी एक वर्षपछि डि.टि.पि.को थप मात्रा दिन विश्व स्वास्थ्य संगठनले सिफारीश गर्दछ । डि.टि.पि.; डि.टि. अथवा टि.डि.को थप मात्रा दिने आवश्यकता र समय प्रत्येक राष्ट्रिय कार्यक्रमले संवोधन गरी कार्यक्रममा समावेश गरिनु पर्दछ जुन नेपालमा हाल छैन ।



