Wednesday, Feb 22nd

Last update07:31:02 PM GMT

You are here Lok Sewa Aayog कर्मचारीतन्त्र निजामती सेवामा घट्दो आकर्षण

निजामती सेवामा घट्दो आकर्षण

E-mail Print PDF
0.0/5 (0 vote)

प्रा.डा. भीमदेव भट्ट


विगतमा निजामती सेवाको गरिमा ज्यादै महìवपूर्ण थियो । समाजले यस सेवालाई प्रतिष्ठा र इज्जतले हेर्दथे । सेवारत कर्मचारी पनि आफूलाई ‘सिन्दूरको महिमा’ सम्झी गौवान्वित हुन्थे तर यसको ठीक उल्टो विगत डेढ दुई दशक यता यस सेवामा सर्वसाधारणको आकर्षण क्रमशः घट्दो पाइन्छ ।स्तरीय नाम चलेका स्कुल कलेजबाट दश जोड दुई शैक्षिक उपाधि हासिल गरेका युवामा स्वदेशमै बसी सेवा गर्नेभन्दा आमेरिका, अस्ट्रेलिया या युरोपमा गई उच्च अध्ययन गर्ने र उतै काम खोज्ने प्रवृत्ति देखिएको छ । विगत केही वर्ष यता लोकसेवा आयोगले अधिकृत स्तरका कर्मचारीका लागि गरेको विज्ञापनमा अधिकांश उम्मेदवार सेवारत कर्मचारी नै हुने गरेको तथ्याङ्कले निजामती सेवामा सर्वसाधारणको आकर्षण घट्दै गएको आभास मिल्दछ । आयोगले सिफारिस गरेका अधिकांश उम्मेदवारबाट पनि सम्बन्धित मन्त्रालय, कार्यालय सन्तुष्ट देखिन्नन् । किनभने सिफारिस गरिएका उम्मेदवारहरू सेवारत अत्यधिक र नयाँ अनुहार विरलै हुन्छन् ।

लोकसेवा आयोगले सिफारिस गरेका उम्मेदवारहरू परीक्षामा सम्मलित हुनेमध्येका योग्य अवश्य हुन् तर तिनीहरू समाजमा विद्यमान मेधावी उम्मेदवर हुन् भनी दाबी गर्न मिल्दैन । परीक्षामा उम्मेदवारी नै नदिएमा उम्मेदवारलाई आयोगले सिफारिस गर्ने कुरै भएन । यस वस्तुस्थितिलाई बोध गरी निजामती सेवामा सिफारिस गरिएका कर्मचारीलाई कसैले ‘रिजेक्टेड ब्रेन’ को संज्ञा दिएका छन् भने कसैले यस सेवाभित्र ‘ग्रेसम्स ल′ को सिद्धान्त हावी हुँदै गएको अनुभूति गरेका छन् । यी र अन्य कतिपय कारणले गर्दा लोकसेवा आयोगले सिफारिस गरेका उम्मेदवारहरूप्रति मन्त्रालयको सन्तुष्टि कम रहनु स्वाभाविक देखिन्छ ।

निजामती सेवामा युवा पिंढीको आकर्षण किन घट्यो, किन यसले आˆनो विगतको साख र गरिमा कायम राख्न सकेन भनी गहन अध्ययन विश्लेषण गरिनु जरुरी छ । अवगत भएकै विषय हो कि सेवारत कर्मचारी समाजकै अब्बल, सेवामुखी, कर्तव्यनिष्ठ, इमानदार र अन्ततोगत्वा ग्राहकमुखी नभएमा कुनै पनि प्रशासनले आˆनो प्रतिष्ठा कायम राख्न सक्दैन । यथार्थमा प्रशासन राष्ट्रको दर्पण हो । अतः यसको स्थान सधैँ उँचो तुल्याउनु जरुरी छ । त्यसैले यसको सञ्चालनमा समाजमा उपलब्ध विशिष्ट प्रतिभाहरूको संलग्नता अपरिहार्य ठानिन्छ ।

नेपाल सरकारले विगत केही समय यता निजामती सेवालाई बढी आकर्षक र मर्यादित तुल्याउन विभिन्न निर्णय लिएको पाइन्छ । सेवारत कर्मचारीका सन्ततिलाई उच्च्ा शिक्षामा छात्रवृत्ति, कडा रोग लागेका कर्मचारीलाई दिइने आर्थिक सहयोगमा वृद्धि, दुर्गम क्षेत्रमा गई काम गर्ने कर्मचारीलाई स्थानीय भत्तामा तेब्बर वृद्धि, निजामती सेवा पुरस्कार सङ्ख्यामा दोब्बर वृद्धि आदि निर्णय प्रशंसनीय छन् । विद्यमान ऐन नियमले दिएका सुविधा र थप गरिएका आकर्षणबाट समेत सर्वसाधारणले निजामती सेवालाई किन प्राथमिकतामा राख्न सकेनन् भन्ने विषयमा गहन अध्ययन विश्लेषण हुनु जरुरी छ । छोटकरीमा लेख्दा यस्तो अवस्था हुनुमा देहायका कारण पहिचान गर्न सकिन्छ ।

१. लोकसेवा आयोगको परीक्षाः- लोकसेवा आयोगद्वारा लिइने परीक्षा उत्तीर्ण हुन ज्यादै कठिन छ भन्ने भ्रम धेरै उम्मेदवारमा पाइन्छ । यस परीक्षालाई लौहद्वारको संज्ञाले सम्बोधन गरिन्छ । यथार्थमा उम्मेदवारी नै नदिई यस्तो धारणा राख्नु उपयुक्त देखिन्न । खासगरी अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइने बोर्डिङ स्कुल र दश जोड दुई शिक्षण संस्थाबाट प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरूका लागि लोकसेवा आयोगले लिने परीक्षा भाषाका हिसाबले तुलनात्मक ढङ्गले कठिन हुन सक्दछ किनभने आयोगले प्रश्नपत्र, तोकिएका विषयमा बाहेक, नेपाली भाषामा छपाउँछ र उम्मेदवारबाट पनि नेपाली भाषामै उत्तरको अपेक्षा गर्दछ । नेपाली भाषाका साथै अङ्ग्रजी भाषामा समेत प्रश्न निर्माण गर्नेबारे आयोगले विगतमा पहल नगरेको होइन तर नेपालभित्रै बोलिने अन्य भाषाका समुदायले त्यसको विरोध गर्दा उक्त पहलले मूर्तरूप लिन सकेन । वर्तमान समयमा अङ्ग्रेजी भाषाले विश्वमै मान्यता पाइरहेको सन्दर्भमा आयोगले पनि यसबारे वैकल्पिक व्यवस्था गर्दा उपयुक्त हुने देखिन्छ ।

२. प्रशासनमा चरम राजनीति ः- निजामती सेवामा प्रवेश गर्न लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गर्नु पूर्व सर्त हो । तत्पश्चात् कर्मचारीको पदस्थापना, सरुवा, बढुवा आदि वृत्ति विकासका तमाम खुड्किलामा सेवाभित्रै राजनीतिक चलखेल व्यापक पाइन्छ । आˆना हाकिमको सधैँ तावेदारी गर्नुपर्ने, अमुक ट्रेड दुनियाको सदस्यता लिनैपर्ने, सो नगरेमा पदस्थापना बढुवा प्रभावित हुने आदिका कारण विशुद्ध सेवाभावले निजामती सेवामा प्रवेश गर्ने कर्मचारीले कार्यालयभित्र काम गर्न सहज ठान्दैन । पलपलमा राजनीतिक हण्डर खाएका सेवारत कर्मचारीले अपवादमा बाहेक आˆना सन्ततिलाई यस सेवामा प्रवेश गर्न निरुत्साहित पारेका उदाहरण थुप्रै पाइन्छन् । सचिव जस्तो गरिमामय पदमा राजनीतिक भागबण्डा हुनु, आस्थाका आधारमा अवसर दिइनु आदि प्रकरणले गर्दा युवा पिंढी निजामती सेवाप्रति विमुख हुनु स्वाभाविक देखिन्छ ।

३ न्यून तलब भत्ता ः- नेपालको निजामती सेवामा कार्यरत कर्मचारीले प्राप्त गर्ने मासिक तलब भत्ता सार्क राष्ट्रकै न्यून हो । विद्यमान तलबभत्ताले एक आदर्श परिवारको १५ दिनको खर्च धान्न पनि दुष्कर छ । यसैकारण समेत विदेश जान नरूचाउने अथवा सो अवसर नपाएका युवा निजामती सेवाको तुलनामा वित्तीय संस्थान, गैरसरकारी संस्था वा निजी सङ्गठनमा काम गर्न उत्साहित हुन्छन् । कार्यालयभित्र अतिरिक्त आम्दानी गर्ने अवसर पनि सबैलाई जुर्दैन ।

४. माटोको माया नहुनुः- वर्तमान समयमा स्कुल कलेजमा पाठ्यपुस्तकमा “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने विषयको यथेष्ट ज्ञान दिन नसकेकाले नै होला हाम्रा युवा पिंढी “संसार एउटा गाउँ हो” भन्ने भावना अनुरूप स्वदेश र विदेशबीचको भिन्नता पहिचान गर्न नसकेको हो कि जस्तो लाग्दछ । यसैकारण पनि ती युवाले आˆनै देशमा बसी सेवा गर्नुपर्दछ भन्ने भावना राख्न सकेको देखिन्न । साथीभाइ, इष्टमित्र र अन्य विविध सम्पर्कमार्फत उनीहरूले आˆनो गन्तव्य सधैँ विदेश बनाएका छन् । विडम्बना नै भन्नुपर्दछ केही अपवादलाई छाडी, विदेश पुगेका शिक्षित युवायुवतीहरू चराचुरुङ्गी आˆनो गुँडमा नफर्के जस्तै स्वदेश र्फकन चाहँदैनन् । आˆनो जन्मभूमिको माटो नै बिर्सन पुग्छन् ।

५. उज्यालो भविष्य ः- मानिस विवेकी र प्रगतिशील प्राणी हो । ऊ अग्रगमन चाहन्छ । अतः ऊ सधैँ सङ्घर्ष गरेर प्रगति पथमा लम्किरहेको हुन्छ । ऊ विकास, आधुनिकीकरण र परिवर्तनभित्रै रमाउन चाहन्छ । तसर्थ अभाव, सङ्कट र कष्टमय जीवन बिताइरहेको सङ्घर्षशील प्राणी विकसित समाज र देशमा पुग्ने बित्तिकै ऊ त्यहीं रमाउँछ, अभ्यस्त हुँदै जान्छ । यो प्रकरण गाउँघरका बस्ती, सहरबजार र सम्पन्न ठाउँमा बसोबास गर्न लागेपछि पुनः गाउँ र्फकन नचाहने प्रवृत्ति जस्तै हो ।

निजामती सेवामा सर्वसाधारणको आकर्षण कम हुनुमा प्रस्तुत लेखमा पहिचान गरिएका प्रकरण अन्तिम होइनन् । यसो लेखेर प्रतिभासम्पन्न युवापिंढी यस सेवामा प्रवेश नै गर्दैनन् भन्ने धारणा स्थापित गर्न खोजिएको पनि होइन । विद्यमान प्रशासनमा देहायका उल्लिखित सुझाव दृढतासाथ कार्यान्वयन गर्दै लगे भविष्यमा यो सेवा पुनः सबैका लागि आकर्षक बन सक्दछ । मुख्य कुरा प्रशासन सञ्चालनका आधारभूत मूल्यमान्यतालाई कहीँ कतैबाट पनि हस्तक्षेप गरिनु हुँदैन ।

१. सेवा अधिकृतमूलक बनाउने ः- वर्तमान अवस्थामा निजामती सेवाभित्र करिब ११ प्रतिशत कर्मचारी मात्र राजपत्राङ्कति श्रेणीतर्फ छन् । बाँकी ५९ प्रतिशत कर्मचारी सहायकतर्फ र अन्य ३० प्रतिशत कर्मचारी श्रेणीविहीन छन् । अतः भविष्यमा यस अनुपातमा परिवर्तन ल्याई राजपत्राङ्कति कर्मचारीको सङ्ख्या क्रमिक वृद्धि गरी सहायकस्तरका कर्मचारीको सङ्ख्या घटाउनु पर्दछ । श्रेणाविहीन कर्मचारीको व्यवस्था छुट्टै ढङ्गले मिलाउनु आवश्यक छ । यसो भएमा भोलिका दिनमा निजामती सेवामा प्रवेश गर्नेको सङ्ख्या बढ्न सक्दछ ।

२. तलब सुविधा वृद्धि गर्नेः निजामती कर्मचारीलाई दिइएको तलब भत्ताको अङ्कमा वृद्धि गरिनु आवश्यक छ । एक आदर्श परिवारको भरणपोषणका लागि चाहिने न्यूनतम रकम नदिई न त यस सेवातर्फ सर्वसाधारणलाई आकषिर्त गर्न सकिन्छ न त भ्रष्टाचार नै न्यून गर्न सकिन्छ ।

३. अधिकार निर्दिष्ट गर्नेः- प्रशासनमा देखिएको राजनीतिकरण र अन्य अन्तरद्वन्द्व समन गर्न मन्त्री र सचिवहरूको अधिकार क्षेत्र र कामको बाँडफाँड कानुनमै उल्लेख हुनु जरूरी छ । यस्तो भएमा प्रशासनमा यदाकदा देखिने असमझदारीको बादल फाट्दै जानेछ ।

४. खुला अवसर प्रदान गर्नेः महत्त्वपूर्ण पदमा पदस्थापना गर्दा आस्थाका आधारमा निर्णय नलिई कर्मचारीले आˆनो सेवाकालमा पुर्‍याएको योगदानको आधारमा यो कार्य हुनुपर्दछ । उपयुक्त व्यक्तिलाई उपयुक्त काम सुम्पने थिति बसाल्नु जरूरी छ ।

पहिलो चरणका उपरोक्त अनुसार मात्र गर्न सके निजामती सेवामा आकर्षण बढ्ने मात्र नभई यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नसमेत सहज हुनेछ ।

published in nijamati.com



Add comment